दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको एसीसी टी–२० एसिया कप अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई १ सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा आमन्त्रित पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रनको योगफल खडा गर्यो।
पाकिस्तानका ओपनर शहिबजादा फरानले उत्कृष्ट प्रहार गर्दै ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाए। इनिङको सुरुवातमै भारतले उनका दुई क्याच खसाल्दा पाकिस्तानले ठूलो फाइदा उठायो। फरानसँगै दोस्रो विकेटमा सैम अयुबले १७ बलमा २१ रन बनाउँदै ७२ रनको साझेदारी गरे।
ओपनर फखर जमान विवादास्पद निर्णयमा आउट भए। हार्दिक पान्ड्याको बलमा एज लागेर विकेटकिपर सञ्जु स्यामसनले क्याच लिए पनि बल पहिला जमिनमा लागेको देखिएपनि तेस्रो अम्पायरले आउटको निर्णय कायम राखे।
पाकिस्तानका अन्य खेलाडीमध्ये हुसेन तालत १०, मोहम्मद नवाज १९ बलमा २१, फहिम अशरफ ८ बलमा २० रन बनाए भने कप्तान सलमान अली अघा १७ रनमा अविजित रहे।
भारततर्फ शिबम दुबेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। कुलदीप यादव र हार्दिक पान्ड्याले १–१ विकेट लिए भने जस्प्रित बुमराह ४ ओभरमा ४५ रन खर्चेर पनि विकेट लिन असफल भए।
यसअघि समूह चरणमा पाकिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो।
