Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

विश्व क्रिकेटका दुई चिर–प्रतिद्वन्द्वी टोली भारत र पाकिस्तान आमनेसामने हुँदै

एसीसी एसिया कप टी–२० क्रिकेटको छैटौं खेलमा आज दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा विश्व क्रिकेटका दुई चिर–प्रतिद्वन्द्वी टोली भारत र पाकिस्तान आमनेसामने हुँदैछन्। खेल नेपाली समय अनुसार साँझ ८:१५ बजे सुरु हुनेछ।

समूह ‘ए’ मा रहेका दुवै टोलीले पहिलो खेलमा विजयी सुरुवात गरिसकेका छन्। भारतले घरेलु टोली युएईलाई ९ विकेटले पराजित गरेको थियो भने पाकिस्तानले ओमानलाई ९३ रनले हराएको थियो। समान २ अंकसहित भारत नेटरनरेटको आधारमा शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा रहेको छ। सुपर–४ को यात्रा सहज बनाउन दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन्।

भारत र पाकिस्तानबीचको भिडन्त क्रिकेटभन्दा बाहिर पनि निकै चासोको विषय हुने गर्छ। आन्तरिक राजनीतिक कारणले पछिल्ला केही वर्ष यिनीहरू केवल आईसीसी र एसिसीको प्रतियोगितामा मात्र आमनेसामने भएका छन्। सामान्यतया यी दुई टोलीबीचको खेलको टिकट खुल्ला भएको केही मिनेटमै सकिने भए पनि यसपटक अघिल्लो दिनसम्म पनि टिकट पूर्ण रूपमा बिक्री नभएको तथ्य चर्चामा छ।

यसपटक पाकिस्तान बाबर आजम र मोहम्मद रिजवान जस्ता सुपरस्टार बिना नै एसिया कप खेल्दैछ। स्ट्राइकरेट कमजोर भएको भन्दै दुवैलाई टि–२० टोलीबाट बाहिर राखिएको हो। नयाँ पुस्ताका ब्याटर सैम अयुब, फखर जमान र हसन नवाजले ठूलो जिम्मेवारी बहन गर्नुपर्नेछ। भारतमा भने रोहित शर्मा र विराट कोहलीले गत वर्षको टी–२० विश्वकप जितेपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका कारण नयाँ पुस्ताकै खेलाडीहरूलाई अवसर मिलेको छ।

भारतले स्पिन आक्रमणमा कुलदीप यादव, बरुण चक्रवर्ती र अक्षर पटेललाई मैदान उतारेको छ भने पाकिस्तानसँग मोहम्मद नवाज, सुफ्यान मुकीब र अब्रार अहमद जस्ता स्पिनरहरूको विकल्प छ। यदि पिचले तीव्र गतिका बलरलाई साथ दिने हो भने पाकिस्तानले हरिस रौफलाई र भारतले अर्शदीप सिंहलाई प्लेइङ–११ मा समेट्न सक्छन्।

भारतको ब्याटिङ लाइनअप बलियो मानिन्छ। अभिषेक शर्मा, सञ्जु स्यामसन र सूर्यकुमार यादवले टोलीलाई आक्रामकता दिन सक्छन्। पाकिस्तानतर्फ फखर जमान, हसन नवाज र सैम अयुब एकै ओभरमा खेलको दिशामै परिवर्तन गर्ने क्षमताका धनी छन्।

दुवै टोलीका मुख्य हतियार बलिङतर्फ देखिन्छन्। भारतसँग ‘योर्कर किङ’ जसप्रीत बुमराह छन् भने पाकिस्तानसँग गति र स्विङका धनी शाहिन शाह अफ्रिदी छन्। यी दुई बलरको स्पेलले नै खेलको समीकरण निर्धारण गर्ने सम्भावना छ।

यद्यपि दुवै टोलीसँग आ–आफ्ना कमजोरी पनि छन्। पाकिस्तानमा अनुभवको कमी स्पष्ट देखिन्छ। विशेषगरी दबाबका क्षणमा नयाँ खेलाडीहरू कसरी प्रस्तुत हुन्छन् भन्ने प्रश्न छ। अर्कोतर्फ भारतमा बुमराहको प्रदर्शन नचल्दा दोस्रो र तेस्रो तीव्र गतिका बलरमा निर्भर रहनुपर्ने चुनौती रहन्छ।

यसअघि पाकिस्तानले अन्तिम पटक भारतलाई २०२२ को एसिया कप सुपर–फोरमा पराजित गरेको थियो। आजको भिडन्त फेरि पनि रोचक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.