भारतको गुवाहाटीमा सम्पन्न टी–२० शृंखला नेपाल ‘ए’ले आफ्नो नाममा गरेको छ । सोमबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपाल ‘ए’ले आसामलाई ४४ रनले पराजित गर्दै पाँच खेलको सिरिज ३–२ ले जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको ठूलो योगफल खडा गर्यो । बलिउठ सन्दीप जोराले ३९ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ६४ रनको पारी खेले । त्यस्तै, शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रनको योगदान दिए । आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २–२ विकेट हात पारे ।
२०९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आसाम २० ओभरमा ९ विकेट गुमाएर १६४ रनमै रोकियो । टोलीका लागि भार्गव लहकरले अविजित २९ रन बनाए भने कप्तान सुमित घडिअन्कर र साहिल जेनले समान २५–२५ रनको योगदान दिए । सौरभ दिहिगाले १७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २–२ विकेट लिँदा बसिर अहमदले १ विकेट जोडे ।
यसअघि बिहीबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएलएस पद्धतिअनुसार १५ रनले पराजित भएको थियो । दोस्रो खेलमा ९६ रनको शानदार जित निकालेको नेपालले तेस्रो खेल पनि ९ रनले जितेको थियो । चौथो खेलमा भने आसामले १८ रनले जित्दै सिरिजलाई बराबरीमा ल्याएको थियो । अन्ततः सोमबारको निर्णायक खेल जित्दै नेपाल ‘ए’ले शृंखला आफ्नो पक्षमा पारेको हो ।
