राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई आफ्नो आधिकारिक उम्मेदवारको रूपमा चयन गरेको छ । पार्टी सचिवालयको निर्णयअनुसार ९ जना आकांक्षीमध्ये थापा अन्ततः उम्मेदवार घोषित भएका हुन्।
यसअघि उम्मेदवार बन्न आकांक्षा राख्नेहरूमा सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री रहेका थिए। उम्मेदवार छनोटका लागि रास्वपाले १२ भदौमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन प्राइमेरी इलेक्सन गरेको थियो। सो मतदानमा सबैभन्दा बढी मत ल्याउन सफल भएका थापालाई पार्टीले उम्मेदवार घोषणा गरेको हो।
डा. थापा चिकित्सा क्षेत्रमा स्थापित नाम हुन्। उनले एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी र न्युरोलोजीमा एमडी गरेका छन्। हाल उनी महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरमा न्युरोलोजी विभाग प्रमुखका रूपमा कार्यरत छन्। साथै, उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन्।
