साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।
नेपाल र भुटान दुवै टोली पहिले नै उपाधि दौडबाट बाहिरिइसकेका कारण यो खेल प्रतियोगितात्मक दृष्टिले निर्णायक नभए पनि दुबै टोलीका लागि आत्मविश्वास बढाउने अवसर हुनेछ ।
यसअघि भएको पहिलो भेटमा नेपालले भुटानलाई संघर्षपूर्ण ढंगले हराएको थियो । पहिलो हाफमा १–० ले पछि परेपनि, सहारा लिम्बूले दोस्रो हाफमा दुई गोल गर्दै नेपाललाई २–१ को शानदार पुनरागमन जित दिलाएकी थिइन् । त्यो नै नेपालले प्रतियोगितामा दर्ता गरेको एक मात्र जित हो ।
भुटानको पक्षमा भने अहिले सम्मको ठूलो उपलब्धि बंगलादेशलाई १–१ को बराबरीमा रोक्नु रहेको छ । अन्य खेलहरूमा उनीहरू पराजित भएका थिए ।
यसैले आइतबारको भिडन्त दुबै टोलीका लागि लिग चरणलाई सकारात्मक रूपमा समापन गर्ने मौका हुनेछ ।
