अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार साउथ अस्ट्रेलिया (एसए) विरुद्धको अभ्यास वान डे खेल रोमाञ्चक शैलीमा जितेको छ। कप्तान रोहित पौडेलको अविजित शतक यस विजयी यात्राको मुख्य आधार बन्यो।
२४३ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै २ विकेटको जित हात पार्यो। नेपाललाई कठिन अवस्थामा उकास्ने क्रममा कप्तान पौडेलले धैर्यपूर्ण ब्याटिङ गर्दै अविजित १०१ रन बनाए। उनले सोमपाल कामीसँग मिलेर अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए। सोमपाल ४० रनमा अविजित रहे।

यसअघि टस हारेर ब्याटिङ गरेको साउथ अस्ट्रेलिया ४५ ओभरमा २४२ रनमा अलआउट भएको थियो। घरेलु टोलीका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने डुबित हूगानबोजमले ५३ रन जोडे। त्यस्तै, रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रनको योगदान दिए।
बलिङतर्फ नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए। सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १-१ विकेट हात पारे।

यसअघि सम्पन्न टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टोलीमध्ये आठौं स्थानमा रहको थियो। त्यस्तै, सिरिजपछि भएको अभ्यास टी-२० मा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराए पनि साउथ अस्ट्रेलियासँग पराजित भएको थियो। तर, शनिबारको वान डे अभ्यासमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै विजयी नतिजा निकाल्न सफल भएको छ।
