अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियाविरुद्धको अभ्यास वान डे खेलमा चुनौतीपूर्ण लक्ष्य पाएको छ।
शनिबार गुवाहटीमा टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाको टोली ४५ ओभरमा सबै विकेट गुमाएर २४२ रनमा रोकिएको थियो। यससँगै नेपाललाई जित हासिल गर्न २४३ रनको लक्ष्य दिइएको छ।
साउथ अस्ट्रेलियाका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रनको योगदान दिए भने दुवित हूगानबोजमले ५३ रन बनाए। त्यस्तै रायन किङले ३५ रन र म्याकेन्जी हार्भेले २४ रन जोडे।
बलिङतर्फ नेपालका लागि नन्दन यादव र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ३–३ विकेट लिए। यस्तै सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट हात पारे।
यसअघि सम्पन्न टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टोलीमध्ये आठौं स्थानमा रह्यो। सिरिजपछि भएको अभ्यास टी–२० मा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई पराजित गरे पनि साउथ अस्ट्रेलियासँग भने हार बेहोरेको थियो।
आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुरलाई नेपालले महत्वका साथ हेरिरहेको छ।
