भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पाँचौँ खेलमा भारतसँग ठूूलो अन्तरको हार बेहोरेको छ।
शुक्रबार साँझ थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा भारतले नेपाललाई ५–० ले पराजित गर्यो। भारतका लागि पर्ल फर्नान्डेसले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरिन् भने दिव्यानी लिन्डाले दुई गोल थपिन्। यसअघि समूह चरणको पहिलो भेटमा पनि नेपाल भारतसँग ७–० ले पराजित भएको थियो।
यस हारसँगै नेपाल उपाधि होडमा पहिले नै बाहिरिएको छ। नेपालले ५ खेलबाट जम्मा १ जित निकाल्दै ३ अंक मात्र जोडेको छ। प्रतियोगिताको डबल राउण्ड रोबिन लिगको तालिकामा भारतले ५ खेलमै १५ अंक जोड्दै अविजित रहँदै च्याम्पियन बनेको छ। बंगलादेश १० अंकसहित दोस्रो, नेपाल ३ अंकसहित तेस्रो र जितविहीन भुटान १ अंकसहित चौथो स्थानमा छन्।
नेपालले यसअघि भुटानलाई २–१ ले हराएको थियो भने दुवै खेलमा बंगलादेशसँग पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेल आइतबार आयोजक भुटानसँग खेल्नेछ।
