गुवाहटीमा शुक्रबार सम्पन्न दोस्रो अभ्यास ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ ले घरेलु टोली आसाम प्रदेश क्रिकेट संघलाई ९६ रनले पराजित गरेको छ। यस जितसँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ। पहिलो खेलमा नेपाल डकवर्थ–लुइस पद्धति (डीएलएस) का आधारमा १५ रनले पराजित भएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७३ रनको बलियो योगफल तयार गर्यो। नेपालका लागि सन्दीप जोराले ३५, पवन सर्राफ र देव खनालले समान ३१–३१, बसिर अहमदले २७, विवेककुमार यादवले अविजित २६ तथा आदिल आलम अन्सारीले १४ रन जोडे। आसामका आकाश सेनगुप्ता तीन विकेटसहित सर्वाधिक सफल बलर बने भने अभिनव चौधरीले दुई तथा आयुशमान मालाकार र अभिलश गोगोइले समान एक–एक विकेट लिए।
१७४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आसाम १५.२ ओभरमै ७७ रनमा अलआउट भयो। रुहिनन्दन पेगुले १७, शिवशंकर रोयले १६ र आकाश सेनगुप्ताले १० रन योगदान दिए पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन्।
नेपालका लागि युवराज खत्रीले घातक बलिङ गर्दै चार विकेट लिए। बसिर अहमदले तीन विकेट हात पारे भने कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले समान एक–एक विकेट जोडे।
अब दुवै टोलीबीचको पाँच खेलको सिरिजअन्तर्गत तेस्रो मुकाबला शनिबार खेलिनेछ।
