अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध अभ्यास सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। मंगलबार सम्पन्न दोस्रो ट्वान्टी–२० खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। यसअघि सोही दिन बिहान भएको पहिलो खेलमा नेपालले ४१ रनले जित निकालेको थियो।
एसीटीले दिएको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमै चार विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रनको उत्कृष्ट पारी खेले भने गुल्शनकुमार झाले २३ रन योगदान गरे। आरिफ शेख पनि ११ रनमा अविजित रहे। बलिङतर्फ एसीटीका इसाम रहमानले २ विकेट लिए भने लुइस इभन्स र देव दुबेले समान १/१ विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङ थालेको एसीटी १७.२ ओभरमै ९६ रनमा समेटियो। टोलीका लागि निक ब्रोएसले १६ रन बनाए भने ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले समान १५–१५ रन जोडे। जेक स्मिथले १० रन बनाए।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान ४/४ विकेट लिए भने कप्तान रोहितकुमार पौडेल र गुल्शनकुमार झाले समान १/१ विकेट हात पारे।
