साफ महिला यू–१७ च्याम्पियनसिपमा नेपालले भुटानलाई हराउँदै शानदार पुनरागमन जित हात पारेको छ।
शुक्रबार सम्पन्न खेलमा नेपालले साहारा लिम्बूको उत्कृष्ट प्रदर्शनको बलमा भुटानलाई २–१ ले पराजित गर्यो। यस जितसँगै नेपालले तीन अंक जोडेको छ। यसअघि पहिलो खेलमा भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको नेपालका लागि यो महत्वपूर्ण जित बनेको हो।

भुटानका लागि भने यो लगातार दोस्रो हार हो। उनीहरू पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएका थिए।
खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो। तर दोस्रो हाफमा नेपालले खेल पल्टाउन सफल भयो। खेलको ५८औं मिनेटमा साहारा लिम्बूले पेनाल्टी बक्सबाहिरबाट जोरदार प्रहार गर्दै बराबरी गोल गरिन्।
यस्तै, ७७औं मिनेटमा पुनः साहराले भुटानी डिफेन्डरहरूको कमजोरीको फाइदा उठाउँदै दोस्रो गोल गरिन्। उनको दोस्रो गोल नै निर्णायक बनेको थियो।
नेपालको जितमा साहारा लिम्बू ‘हिरो’ सावित भइन् भने भुटान लगातार दोस्रो खेलमा निराशाजनक परिणामसहित पछि पर्न बाध्य भयो।
