अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको छ।
डार्विनमा भएको खेलमा पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा सात विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन प्रहार गरे भने दिपेन्द्रसिंह ऐरी ४१ रनमा अविजित रहे। दुवै बीचको साझेदारीले नेपाललाई खेलमा फर्काए पनि अन्तिम क्षणमा आवश्यक रन बनाउन नसक्दा पराजय भोग्नुपर्यो। अन्तिम ओभरमा नेपाललाई ८ रन आवश्यक हुँदा ६ रन मात्र जोड्न सक्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रनको महत्वपूर्ण पारी खेले। एक चरणमा ७९–७ को कठिन अवस्थामा पुगेको पाकिस्तानलाई इरफानको पारीले उकास्यो।
बलिङतर्फ नेपालका सोमपाल कामीले ४ ओभरमा ३० रन खर्चिएर ३ विकेट लिए। नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए भने कुशल भुर्तेलले १ विकेट हात पारे।
यस हारसँगै नेपालको यात्रा टप एन्ड टी–२० सिरिजको लिग चरणमै टुंगिएको छ।
