अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आफ्नो पाँचौं खेल बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ ।
डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल बिहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने रेनेगेड्सलाई बिग ब्यास लिगका कप्तानसमेत रहेका विल सदरल्याण्डले नेतृत्व गर्नेछन् ।
नेपालले हालसम्म खेलेका चार खेलमध्ये तीनमा पराजय भोग्दै एक खेलमा मात्र जित निकालेको छ । पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको नेपालले चौथो खेलमा होबार्टलाई भने ६६ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । त्यसैले नेपाल अब रेनेगेड्सविरुद्ध पनि जितको क्रमलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
उता, मेलबर्न रेनेगेड्सले अहिलेसम्म तीन खेल खेलेर दुई जित निकालिसकेको छ । यो सिरिजमा ११ टोली सहभागी छन् र प्रत्येक टोलीले ६–६ वटा लिग खेल खेलेपछि शीर्ष ४ मा पुगेका टोलीले सेमिफाइनल खेल्नेछन् ।
नेपालले हालसम्मका ४ खेलबाट २ अंक मात्र जोडेको छ र अंक तालिकामा आठौं स्थानमा रहेको छ । नेपालले आफ्नो अन्तिम लिग खेल शुक्रबार पाकिस्तान शाहीन्सविरुद्ध खेल्नेछ
