भुटानको चाङ्लिमिथाङ रंगशालामा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो नेपाली समयअनुसार पौने ३ बजे सुरु हुनेछ।
यसअघि मंगलबार आयोजित प्रि–म्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताको मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताए। उनले अघिल्लो वर्षको यू–१६ च्याम्पियनसिपमा भारतसँग घरेलु मैदानमै हारको अनुभवबाट सिकेको भन्दै यसपटक गल्ती सच्याइने दाबी गरे।
“हामीले राम्रो तयारी गरेका छौं। खेलाडीले अवसरको सदुपयोग गर्न सके भारतलाई हराउन सक्छौं। हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो,” प्रशिक्षक श्रेष्ठले भने।
श्रेष्ठका अनुसार यसपटकको टोलीमा अघिल्लो संस्करणमा खेलिसकेका खेलाडीसमेत भएकाले टोलीको प्रदर्शन अझ निखारिएको छ।
प्रतियोगिता संरचना
यस संस्करणमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली सहभागी छन्। प्रतियोगिता डबल राउण्ड रोबिन लिग प्रणालीमा खेलिनेछ। सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ।
आजै हुने अर्को खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालको खेल तालिका
अगस्ट २० : नेपाल बनाम भारत
अगस्ट २२ : नेपाल बनाम भुटान
अगस्ट २४ : नेपाल बनाम बंगलादेश
अगस्ट २७ : बंगलादेश बनाम नेपाल
अगस्ट २९ : भारत बनाम नेपाल
अगस्ट ३१ : भुटान बनाम नेपाल
