Abiral Awaj

२०८३ कार्तिक २ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ कार्तिक २ गते

अस्ट्रेलियामा नेपालको पहिलो जित, होबार्ट हरिकेन्स ६६ रनले पराजित

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार डार्विनमा भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रनको योगफल बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन जोडे भने आसिफ शेखले २९ र कुशल भुर्तेलले २७ रन बनाए । अन्तिमतिर लोकेश बमले ११ बलमा अविजित २५ रनको योगदान दिए । नेपालले अतिरिक्तमार्फत ३२ रन पनि जोडेको थियो । होबार्टका निभेथन राधाकृष्णनले २ विकेट लिँदा राफ माकमिलनले पनि २ विकेट लिए ।

जवाफमा १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमै ११४ रनमा समेटियो । ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ रन जोडे । तर, अन्य खेलाडीले योगदान दिन नसकेपछि टोली पराजित भयो ।

नेपालको जितमा नन्दन यादवले घातक प्रदर्शन गर्दै ३ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए । कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे ।

यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले सिरिजको चौथो खेलमा आएर पहिलो जित निकालेको हो । नेपाल पहिलो खेलमा एनटी स्ट्राइक, दोस्रोमा बंगलादेश ‘ए’ र तेस्रोमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

नेपालले अब भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.