राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज काठमाडौं स्थानान्तरण गरिँदै छ।
बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए। उनले जेठ महिनामै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले अनुमति दिएको भए पनि गृह प्रशासनले तत्काल प्रक्रिया अघि बढाएको थिएन।
तर केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले गरेको अनुगमनमा लामिछानेले भैरहवामा आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेपछि सरकारले उनलाई काठमाडौं स्थानान्तरण गर्ने निर्णय गरेको हो।
कारागार विभागका अनुसार, शनिबार दिउँसो ३:१० बजे बुद्ध एयरको नियमित उडानमार्फत उनलाई काठमाडौं लगिँदै छ।
