Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

गुल्मीका दुई प्रमुख सडकखण्ड पूर्णरूपमा अवरूद्ध

अविरल वर्षासँगै गुल्मी जिल्लामा बाढी र पहिरोको जोखिम उच्च बनेको छ। जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र सतर्क रहन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले बुधबार सार्वजनिक सूचना जारी गर्दै खोला किनारमा दाउरा संकलन, माछा मार्ने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न चेतावनी दिएका छन्। जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूले बाढी–पहिरोको खतरा देखिए तत्काल स्थानीय तह वा सुरक्षा निकायसँग सम्पर्क गरी सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

दुई प्रमुख सडकखण्ड पूर्णरूपमा अवरूद्ध

वर्षाको कारण कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोरको गुल्मी खण्डमा यातायात पूर्णरूपमा अवरूद्ध भएको छ। यस्तै, सत्यवती गाउँपालिका–६ डहरे खोलामा पानीको बहाव अत्यधिक बढेपछि रुद्रवेणी–वामी सडकखण्ड पनि बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुले जनाएका छन्।

दुवै सडक अवरूद्ध भएपछि स्थानीय बासिन्दा र यात्रुहरू आवतजावतमा समस्या भोगिरहेका छन्। स्थानीय सरकार र सुरक्षाकर्मीको सहयोगमा पहिरो हटाउने तथा बाटो खुलाउने कार्य भइरहेको छ। प्रहरीका अनुसार, डहरे खोलाको पानीको बहाव घटेपछि रुद्रवेणी–वामी सडकखण्ड पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

कालीगण्डकी करिडोर वर्षायाममा बारम्बार अवरूद्ध हुने भएकाले सम्बन्धित निकायलाई दीर्घकालीन समाधानका लागि पहल गर्न स्थानीयले आग्रह गरेका छन्।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.