Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

नेपालको पहिलो जित

एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालको पहिलो जित, सुक्रिया मियाँको अन्तिम मिनेटको गोल निर्णायक

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोटको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई १–० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। अट्याकिङ मिडफिल्डर सुक्रिया मियाँले अतिरिक्त समयको पहिलो मिनेटमा गरेको गोल नै नेपालको जितको आधार बन्यो।

खेलको ३७औँ मिनेटमा नेपालले अग्रता लिने उत्कृष्ट मौका पाए पनि सफल हुन सकेन। साउदीकी डिफेन्डर बास्माह अल्शनाइफीले सेनु परियारलाई पेनाल्टी बक्सभित्र लडाएपछि नेपाललाई पेनाल्टी मिल्यो। तर, स्ट्राइकर मीना देउवा प्रहार गर्ने क्रममा चिप्लिँदा साउदीकी गोलकिपरले सहजै बल रोकिन्।

नेपालले पहिलो हाफदेखि नै खेलमा दबाब बनाएको भए पनि गोलको लागि अतिरिक्त समयसम्म पर्खिनु पर्‍यो। मीनाले दिएको क्रस बललाई पेनाल्टी बक्सभित्र पूर्णिमा राईले छोडेकी थिइन्, जसलाई अनमार्क रहेकी सुक्रियाले सजिलै गोलमा परिणत गरिन्।

यो जितसँगै नेपालले दुई खेलमा चार अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो। लगातार दोस्रो खेलमा पराजित साउदी अरबको भने छनोटको सम्भावना समाप्त भएको छ। अघिल्लो खेलमा उनीहरूले उत्तर कोरियासँग १५–० को लज्जास्पद हार बेहोरेका थिए।

यस एकल चरणीय प्रतियोगितामा समूहको विजेता मात्र प्रत्यक्ष रुपमा आगामी वर्ष थाइल्यान्डमा हुने एसियन कपका लागि छनोट हुनेछ भने शीर्ष तीन उपविजेता टोलीलाई पनि मौका रहनेछ। उत्तर कोरिया यस पटक पनि छनोटनजिक पुगेको छ। अब नेपालले आइतबार साबिक विजेता उत्तर कोरियासँग निर्णायक खेल खेल्नेछ।

 

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.