Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

नेपाल र साउदी अरेबिया भिड्दै

एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा आज नेपाल र साउदी अरेबिया भिड्दै

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आज एएफसी यू–२० महिला एसियन कप छनोटको समूह ‘ए’ अन्तर्गत नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ।

नेपालले बुधबार भएको पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो। खेल सुरु भएको ३८ सेकेन्डमै अट्याकिङ मिडफिल्डर सेनु परियारको गोलमार्फत अग्रता लिएको नेपालले १८औं मिनेटमा केल्देन वाङ्मोको गोल खेप्दै बराबरीमा सीमित रह्यो। पछिल्ला दुई भेटमा भुटानविरुद्ध १४ गोल गर्दै सहज जित हात पारेको नेपालले यसपटक आक्रमणमा अपेक्षित प्रदर्शन गर्न सकेन।

यो बराबरीसँगै समूहविजेता बन्ने नेपालको सम्भावनामा धक्का पुगेको छ। अझ बलिया टोली उत्तर कोरियासँग खेल्न बाँकी रहेकाले साउदी अरेबियाविरुद्ध जितको दबाब उच्च छ। मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले भुटानसँगको बराबरीपछि बाँकी खेलहरू अझै कठिन हुने भन्दै मिहिनेतपूर्वक खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अर्कोतर्फ, साउदी अरेबियाले आफ्नो पहिलो खेलमा बलियो उत्तर कोरियासँग १५–० को फराकिलो हार व्यहोरेको थियो। सिंगल राउन्ड पद्धतिमा हुने यो छनोट प्रतियोगिताबाट समूहको शीर्षस्थानमा रहने टोलीले मात्र अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा स्थान पाउनेछ। साथै, तीन उत्कृष्ट उपविजेता टोलीलाई पनि छनोटको मौका हुनेछ।

साउदी अरेबियासँग बराबरी वा हारले नेपालको एसियन कप पुग्ने सपना एक खेलअगावै समाप्त हुन सक्ने भएकाले आजको खेलमा फराकिलो जित निकाल्नु नै नेपालको एक मात्र विकल्प देखिन्छ।
त्यसपछि आजकै दोस्रो खेलमा साँझ ५:४५ बजे उत्तर कोरियाले भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.