लुम्बिनी प्रदेशमा सवारी कर जरिवानामा ७५ प्रतिशत छुट, साउनदेखि पुस मसान्तसम्म लागु
लुम्बिनी प्रदेश सरकारले समयमै सवारी साधनको कर नबुझाएका सेवाग्राहीलाई लक्षित गरी जरिवानामा ७५ प्रतिशत छुटको व्यवस्था गरेको छ। यो व्यवस्था साउन महिनादेखि लागु गरिएको हो, जसअनुसार सवारी कर तथा नवीकरण नगरेका सवारीधनीहरूले अब पुस मसान्तसम्म जरिवानामा उल्लेख्य सहुलियत पाउने छन्।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेका अनुसार, विविध कारणले समयमा कर नबुझाउन नसकेका सेवाग्राहीलाई राहत दिन यस्तो निर्णय गरिएको हो। मन्त्री न्यौपानेले भने, “सवारी कर नबुझाएका सेवाग्राहीहरूले साउनदेखि पुस मसान्तसम्म कर बुझाएमा लाग्ने जरिवानामा ७५ प्रतिशत छुट पाइनेछ।”
मन्त्रालयले दिएको जानकारीअनुसार, सवारी कर समयमा नबुझाएमा प्रत्येक वर्ष २० प्रतिशत दरले जरिवाना थपिने व्यवस्था छ। तर अब यो सुविधाअन्तर्गत, कुनै पनि सवारी साधनको कर बक्यौता रकममा लाग्ने जरिवानामा ७५ प्रतिशत छुट दिइनेछ। यसले २० प्रतिशतदेखि १०० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने अवस्थाका सबै सवारीधनीलाई फाइदा पुग्नेछ।
सवारीको प्रकृतिअनुसार वार्षिक सवारी कर तिर्नुपर्ने व्यवस्था कायम नै छ। तर जरिवानामा छुट दिइएपछि धेरै सेवाग्राहीहरूले यो अवसरको उपयोग गर्न थालेका छन्। मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरूलाई यस सुविधाबारे व्यापक प्रचार–प्रसार गर्न पनि निर्देशन दिएको छ।
हालै सम्पन्न वार्षिक समीक्षा बैठकमा मन्त्री न्यौपानेले यातायात कार्यालय प्रमुखहरूलाई भने, “राजस्व सङ्कलन र सेवाग्राहीलाई सहुलियत दिने उद्देश्यले यो निर्णय लिइएको हो। सबै नागरिकले यो जानकारी पाउनुपर्छ, र छुट सुविधा लिन सक्ने वातावरण तयार पार्नुपर्नेछ।”
यस निर्णयपछि सवारीधनीहरूले ढिलो भएको कर सहजै तिर्ने वातावरण बन्न थालेको मन्त्रालयले जनाएको छ।
