कपिलवस्तु, साउन २० – राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये ३८.८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन्। नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।अंग्रेजी विषयमा अत्यधिक विद्यार्थी अनुत्तीर्ण भएको बोर्डले जनाएको छ। लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार कुनै पनि विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत नल्याएमा नतिजा प्रकाशित हुँदैन, जसले गर्दा धेरै विद्यार्थी ननग्रेडेड भएका हुन्।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, उत्तीर्ण विद्यार्थीमध्ये
३.६१ देखि ४.०० GPA ल्याउने विद्यार्थी: १३,५०२
३.२१ देखि ३.६० GPA ल्याउने: ५५,८९६
२.८१ देखि ३.२० GPA ल्याउने: ९४,२६८
२.४१ देखि २.८० GPA ल्याउने: ६९,८१२
२.०१ देखि २.४० GPA ल्याउने: ८,९६४
१.६१ देखि २.०० GPA ल्याउने: २३ जना रहेको उल्लेख छ।
गत वर्षको तुलनामा यस वर्षको नतिजामा करिब ९ प्रतिशतको वृद्धि देखिएको छ। अध्यक्ष शर्माले यस वर्ष विद्यार्थीको मिहिनेत, अभिभावकको चासो र शिक्षकको सहयोगले नतिजामा सुधार आएको बताए।
यसैबीच, ननग्रेडेड भएका विद्यार्थीका लागि ग्रेड सुधार परीक्षा भदौ २८ र २९ गते हुने भएको छ। परीक्षा गत वैशाख ११ गतेदेखि हुने तय भए पनि शिक्षक संघको आन्दोलनका कारण १० दिन पछि सरेर वैशाख २१ गतेदेखि सुरु भएको थियो र जेठ २ गते सम्पन्न भएको थियो।
