कपिलवस्तु, साउन १८ — भारतको प्रतिष्ठित मिक्स्ड मार्सल आर्ट्स (एमएमए) प्रतियोगिता म्याट्रिक्स फाइट नाइट मा साविक विजेता कोरेनलाई हराउँदै बान्टमवेट बेल्ट जितेपछि नेपाली फाइटर रविन्द्र ढाँटले आफ्नो ऐतिहासिक जित आफ्ना प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन्।
उनले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेका हुन् । तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै जित हासिल गरेका हुन् । व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका छन् ।
नेपालमा एमएमएको विकासमा महत्वपूर्ण भूमिका खेलेका दिविज पिया लामा नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी) का संस्थापक समेत हुन्। उनले रविन्द्र ढाँटमा सुरुदेखि नै सम्भावना देखेर प्रशिक्षण, आवास र अन्य खर्च समेत व्यक्तिगत रूपमा व्यहोर्दै उनलाई एमएमएको लागि तयार पारेका थिए।
एनडब्लुसीमा प्रभावशाली प्रदर्शनपछि रविन्द्रले अन्तर्राष्ट्रिय प्रशिक्षण र प्रतियोगितामा भाग लिँदै आफ्नो कौशल अझ निखार्न सफल भए। नेपालमै रहेको लक एण्ड रोल एमएमए तथा सोमा फाइट क्लब जस्ता प्रतिष्ठित संस्थाबाट थप सहयोग पाउँदै रविन्द्रले आफ्नो क्षमतामा नयाँ उचाइ थपे।
रविन्द्रको सफलतामा दिविज पिया लामाको भूमिका अतुलनीय मानिन्छ। प्रतिभालाई चिनेर त्यसमा लगानी गर्ने साहस देखाएका दिविजलाई नेपाली एमएमए समुदायले विशेष धन्यवाद दिएको छ। साथै, अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रस्तुत गर्न सफल भएका रविन्द्रलाई बधाई दिइएको छ।
अब सबैको अपेक्षा छ—रविन्द्र ढाँटले भविष्यमा अझ व्यावसायिक सफलता हासिल गर्दै नेपाली एमएमएलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नेछन्।
