हृदयेन्द्र शाहको ‘जुम्ला भ्लग’ माथि राजनीतिज्ञबीच तीव्र प्रतिक्रिया आउन थालेका छन्।
पूर्व युवराज हृदयेन्द्र शाहले आफ्नो २३औं जन्मदिनको अवसरमा पहिलोपटक सार्वजनिक रूपमा जुम्ला यात्राको भ्लग ‘माई ट्रिप टु जुम्ला’ सार्वजनिक गरेपछि राजनीतिक रुपमा चर्को बहस सुरु भएको छ।
उक्त भिडियोमा उनले जुम्लाको प्राकृतिक सौन्दर्य, जनजीवन र स्थानीय संस्कृति झल्काउने प्रयास गरेका छन्। उनले कर्णालीको अद्भुत सौन्दर्य, जुम्लाको जीवनशैली र भौगोलिक विविधताबाट प्रभावित भएको खुलासा गरेका छन्।
यसअघि उनको हिँडाइ, हाँसो, लवाइखवाइ र समाजप्रतिको दृष्टिकोण सार्वजनिक रूपमा देखिएको थिएन, जसले धेरैलाई जिज्ञासु बनाएको थियो। केहीले यसलाई सकारात्मक रुपमा हेरेका छन् भने केही नेताले भने आलोचना गरेका छन्।
याे भिडियाे सार्वजानीक भएपछि जुम्लाबाट प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामाले हृदयेन्द्रको भ्लगप्रति कडा आपत्ति जनाएकी छन्। उनले फेसबुकमार्फत उक्त भिडियो राजतन्त्रको झल्को दिने र गणतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने षड्यन्त्रको रूपमा व्याख्या गरेकी छिन्।
उनका अनुसार, “यो प्रयास राजतन्त्र फर्काउने योजनाको अंश हो,” भन्दै उनले यसलाई ‘राजतन्त्रको अपवित्र षड्यन्त्र’ को संज्ञा समेत दिएकी हुन्।
उक्त टिप्पणी पछि राप्रपाले प्रतिवाद गरेकाे छ छिरिङ लामाको अभिव्यक्तिमाथि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले तीव्र असहमति जनाएका छन्। उनले लामाको टिप्पणीलाई “असभ्य, अमर्यादित र पाखण्डपूर्ण” भन्दै आलोचना गरेका छन्।
श्रेष्ठले प्रश्न गर्दै भनेका छन्, “सांसद लामाको अभिव्यक्तिमा नेकपा माओवादी केन्द्रको आधिकारिक धारणा प्रतिबिम्बित भएको हो?” उनले माओवादी पार्टीले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
उनको भनाइमा, “हृदयेन्द्रको भ्लगले जुम्लाको सभ्यता, सौन्दर्य र पहिचानलाई विश्व सामु चिनाउने प्रयास गरेको छ, तर लामाको प्रतिक्रिया नागरिक स्वतन्त्रता र अतिथिको मर्यादाविपरीत रहेको जनाएकाे छ।”
यदि सांसद लामाको अभिव्यक्ति माओवादी पार्टीको आधिकारिक धारणा नभए, उनी स्वयंले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग समेत श्रेष्ठले राखेका छन्।
उनकाे भ्लग मार्फत एक शब्दमा भन्नू पर्दा “उनी दुनियाँलाई जुम्ला देखाउन गएका थिए, तर दुनियाँले उनीभित्रको व्यक्तित्व देख्यो।”
