नेपालमा महिला टी-२० विश्वकप ग्लोबल छनोट आयोजना हुने भएकाे छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) ले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता नेपालमा आयोजना हुने घोषणा गरेको छ। यो ऐतिहासिक प्रतियोगिता २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा सम्पन्न हुनेछ।
नेपालले आयोजना गर्न लागेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ। प्रतियोगितामा विश्वभरका १० राष्ट्र सहभागी हुनेछन्, जहाँ शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने महिला टी-२० विश्वकप २०२६ मा स्थान सुरक्षित गर्नेछन्।
यस पटकको ग्लोबल छनोटका लागि बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागी भएका कारण स्वतः छनोटमा परेका छन्। एशिया क्षेत्रबाट नेपाल र थाइल्याण्डले छनोट पाएका छन् भने अमेरिका क्षेत्रबाट अमेरिका टोलीले स्थान पक्का गरिसकेको छ। अफ्रिका र युरोप क्षेत्रबाट दुई–दुई टोली तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन उनीहरूका क्षेत्रीय छनोटपछि तय हुनेछ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछिको सुपर सिक्स चरणबाट उत्कृष्ट चार टोली छानिनेछन्, जसले अन्ततः विश्वकपमा स्थान बनाउनेछन्। प्रतियोगिताको अन्त्यमा फाइनल खेल हुनेछ।
विस्तृत खेल तालिका र अन्य जानकारी आईसीसीद्वारा पछि सार्वजनिक गरिनेछ।
