नेपाली टोलीले ५ खेलमै तीन कप्तान परिवर्तन गरिसकेकाे छ।साफ महिला यु–२० च्याम्पियनसिप खेल्न बंगलादेश पुगेकाे नेपाली टाेलिका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले भुटानविरुद्धको खेलमा गोलकिपर सुजता तामाङलाई कप्तानी जिम्मेवारी दिएका हुन्।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा खेल नेपाली समय अनुसार आज २:४५ बजे हुने छ।
घरेलु टोली बंगलादेशसँगकाे खेलमा मिडफिल्डर विर्सना चौधरीले कप्तानी गरेकी थिइन्।
त्यसपछि नेपालले श्रीलंकासँग दुईपल्ट ७–० को जित निकाल्दा सुजता र विर्सनालाई मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले आराम दिएका थिए।
सुजताको स्थानमा लिला जैशीले नेपालको गोलपोस्ट सम्हाल्दै क्लिन सिट राखेकी थिइन्। यी खेलमा लिलाले नै नेपाली टोलीको कप्तानी गरेकी थिइन्। तर, पाँचौं खेलमा साफ यु–१५ च्याम्पियनसिपकी उत्कृष्ट गोलकिपर सुजतालाई नै गुरुङले पहिलो रोजाइमा मैदान उतारेका हुन्।
