Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

नेपाल ७–० ले विजयी

नेपालले साफ महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले विजयी भएको हो। नेपालको जितमा मीनाबाहेक पूर्णिमा राईले २ गोल गरिन्। समीक्षा मगर र सरिता नाथको नाममा समान १ गोल रह्यो।

यो नतिजासँगै अंक तालिकामा दोस्रो स्थानमा रहेको नेपालले ३ खेलबाट ६ अंक पुर्‍याएको छ। समान खेलबाट बंगलादेशको ९ अंक छ।

नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो। दोस्रो खेलमा भने बंगलादेशसँग पराजित भएको हो। श्रीलंका भने जित र अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

खेलको सातौं मिनेटमै नेपालले अग्रता लियो। मीनाले पेनाल्टी बक्सभन्दा निकै बाहिरबाट प्रहार गरेको शक्तिशाली बलले सिधै जाली चुम्यो।

त्यसको ६ मिनेटपछि नै नेपालले समीक्षाको गोलमा अग्रता दोब्बर बनायो। मीनाले दिएको बललाई हुलमुलमा पूर्णिमाको खुट्टासामु पुगेको थियो। पेनाल्टी बक्सभित्रै रहेकी समीक्षाले दोस्रो बारतर्फ सुन्दर फिनिसिङ गरिन्।

समीक्षाले कप्तान विर्सना चौधरीको स्थानमा सुरुआती ११ मा स्थान बनाएकी थिइन्। जारी प्रतियोगितामा यो उनको पहिलो गोल हो। त्यसपछि पनि नेपालले बारम्बार गोलको अवसर बुनेको थियो। तर, हिलाम्मे मैदानमा नेपाल फिनिसिङमा चुक्यो।

४२औं मिनेटमा मीनाले अग्रता ३–० मा पुर्‍याइन्। माया मास्केको लामो प्रहारलाई श्रीलंकाली गोलकिपरले पञ्च गर्दै बचाएकी थिइन्। तर, सिक्स यार्ड बक्सनजिकबाट रिबाउन्डमा मीनाले अर्को गोल थपिन्।

त्यसपछि नेपालको प्रेसिङलाई श्रीलंकाले रोक्न सकेन र पहिलो हाफको इन्जुरी समयमा थप दुई गोल बेहोर्‍यो।

दोस्रो मिनेटमा समीक्षाले दिएको लामो क्रसमा पूर्णिमाले उत्कृष्ट रन बनाउँदै गोलमा परिणत गरिन्। लगत्तै समीक्षाले त्यसरी नै निकाल्दिएको बलमा पूर्णिमाले दुरुस्तै गोल निकालिन्।

जारी प्रतियोगितामा उनको यो छैटौं गोल हो। उनले भुटानविरुद्धको ६–१ को जितमा एक्लैले ४ गोल गरेकी थिइन्।

छैटौं गोल गर्न भने नेपाललाई २५ मिनेट लाग्यो। ७०औं मिनेटमा समीक्षाको प्रहार श्रीलंकाली डिफेन्डरले बिफल बनाएकी थिइन्। तर, नजिकै रहेकी मीनाले सुन्दर तरिकाले फिनिसिङ गरिन्।

जारी प्रतियोगितामा मीनाको यो पहिलो ह्याट्रिक हो। यसअघि बंगलादेशविरुद्धको खेलमा सुरुआती ११ मा स्थान बनाएकी उनले १ गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। तर, अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल ३–२ ले पराजित भएको थियो।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सरिताले सेटपीसमा अर्को गोल थपिन्। करिब ३० यार्डबाट उनले प्रहार गरेको फ्रिकक बल श्रीलंकाली गोलकिपरले पञ्चिङ गर्दै बचाउने प्रयास गरेकी थिइन्। तर, बलले जाली चुम्यो। उनले जारी प्रतियोगितामा यो नै पहिलो गोल हो। योसँगै नेपाल ७–० ले विजयी भयो।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.