Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

श्रीलंकामाथि नेपाललाई २०२१पछि पुरानो स्मृति दोहोऱ्याउने अवसर

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।

खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।
प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ ।चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

आज देखि नेपाली टोली साफ यु–२० महिला च्याम्पियनसिपमा अंक मात्रै होइन, गोलको खोजीमा हुनेछ।

ढाकाको बसुन्धरा किङ्स एरिनामा शुक्रबार बंगलादेशविरुद्धको नतिजाले उपाधिको यात्रा कठिन बनाइदिएको छ। तर, सम्भावना अझै सकिएको छैन।

खेलको अन्तिम सेकेन्डसम्म बराबरीमा रहेर पनि हार बेहोरेको नेपाली टोलीलाई अब मैदानमै ‘स्टेटमेन्ट’ दिनुपर्नेछ। र, त्यसको पहिलो प्लेटफर्म हो, श्रीलंका।

बंगलादेशसँग ९–० र भुटानसँग ५–० को हार बेहोरेको श्रीलंकाली टोली प्रतियोगिताको कमजोर कडी बनेको छ। यही कारण नेपालका लागि यो खेल जित निकाल्ने मात्रै होइन, गोल वर्षाउने अवसर पनि हुनेछ।

यो गोलअन्तर नै अन्तिम चरणमा निर्णायक बन्न सक्छ। प्रतियोगिताको ढाँचा र अंक तालिकाको गणनाले अब गोल पनि अंकजस्तै महत्त्वपूर्ण बनिसकेको छ।

नेपालका लागि यो खेल पुरानो स्मृति दोहोऱ्याउने अवसर पनि हो। सन् २०२१ मा भएको यु–१९ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ६–० ले हराएको थियो। त्यो नतिजा अहिलेको परिस्थिति र लक्ष्यका हिसाबले आधार बन्न सक्छ।

तर, इतिहासले कुनै टोलीको वर्तमान सुरक्षित गर्दैन। त्यसैले अहिलेको टोलीलाई यो खेल रणनीतिक हिसाबले ‘अभियानको पुनःसंरचना’ जस्तै हुनेछ।

पूर्णिमा राईको फर्मले नेपाललाई ठूलो ऊर्जा दिएको छ। उनले भुटानविरुद्धको चार गोलमात्रै हैन, बंगलादेशविरुद्ध निर्णायक पासमार्फत पनि आफ्नो उपस्थिति महत्त्वपूर्ण रहेको सन्देश देखाएकी छन्।

मिना देउवाको गोलमा गरिएको त्यो असिस्ट निर्णायक क्षणमा आएको थियो। पूर्णिमाको गतिशीलता, पोस्टमा डाइरेक्ट प्रहार गर्न सक्ने क्षमता र ‘स्पेस सेन्स’ यस खेलमा अझ बढी आवश्यक पर्नेछ।

त्यस्तै, सेनु परियार पनि वैकल्पिक स्ट्राइकर होइन, मुख्य ‘फिनिशर’को रूपमा अगाडि आउन सक्ने खेलाडी हुन्। भुटानविरुद्ध उनले गरेका दुई गोल नेपालका लागि मर्मस्पर्शी थिए। उनी दबाबमा कसरी काम गर्ने भन्ने उदाहरण बनिन्। उनको ‘फ्रन्ट फुट’ फुटबल खेल्ने शैली श्रीलंकाजस्ता टोलीविरुद्ध अझै प्रभावकारी हुन सक्छ।

तर, नेपालका लागि सावधानी पनि उत्तिकै जरूरी छ। कमजोर भनिएका टोलीसँग पनि लापरवाहीले समस्या निम्त्याउन सक्छ। बंगलादेशसँगको खेलमा अन्तिम सेकेन्डसम्म अग्रसरता नलिनु नै ठूलो पाठ हो। यही पाठलाई स्मरण गर्दै नेपालको टोलीले अब प्रत्येक मिनेटलाई महत्त्वका साथ खेल्नुपर्नेछ।

श्रीलंका अर्को विपक्षी मात्रै हैन, उपाधिको समीकरणमा बाँकी रहेको एउटा पाइला हो। यसलाई पार गर्न जितले मात्रै पुग्दैन, गोल पनि धेरै गर्नुपर्नेछ। प्रतियोगिताले रोमाञ्चक मोड समाउँदै गर्दा अब हरेक स्ट्राइकले फाइनल सम्झेर शतप्रतिशत दिनुपर्नेछ।

 

 

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.