नवलपुर, २० असार। नारायणगढ-बुटवल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ। बिहीबार बिहान ११ बजेदेखि यातायातका लागि पुल खुल्ला गरिएको सडक आयोजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले जानकारी दिनुभयो।
गत पुस २६ गते भारतीय हेभी ट्रक गुड्ने क्रममा पुरानो फलामे पुल भाँचिएपछि यातायात सञ्चालनमा निकै कठिनाइ भएको थियो। वैकल्पिक मार्ग (डाइभर्सन) पनि पटकपटक खोलाले बगाउँदा यात्रुहरूले सास्ती भोग्नुपरेको थियो। अझ, पछिल्लो पटक असार ७ गते विनयी खोलाले बस नै बगाएपछि नयाँ डाइभर्सन निर्माण भएको थिएन। यसले गर्दा साना र हलुका सवारी साधनहरू वैकल्पिक मार्गबाट गुड्थे भने ठूला तथा मालवाहक गाडीहरूलाई अस्थायी डाइभर्सन बनाएर पास गराउनुपर्ने अवस्था थियो।
पुलको ढलान भएको करिब चार हप्तापछि यातायात सञ्चालनमा आएको हो। चिनियाँ निर्माण कम्पनीका पूर्वी खण्डका प्रोजेक्टर म्यानेजर राकेश झाका अनुसार पुल निर्माणको सम्पूर्ण काम सकिएपछि यसलाई सञ्चालनमा ल्याइएको हो।
नयाँ पुल सञ्चालनमा आएसँगै यात्रु र चालकहरूले ठूलो राहत महसुस गरेका छन्। विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले यसबाट यात्रुहरूलाई निकै सहज भएको बताउनुभयो।
दाउन्नेको समस्या यथावत्
दुम्किवासको समस्या समाधान भए पनि पश्चिम नेपालको लाइफलाइन मानिने बुटवल-नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रको समस्या भने कायमै छ। सडक आयोजना पूर्वी खण्डका प्रमुख रिजालले वर्षाअघि दाउन्नेमा बाटो विस्तारको काम नहुने र मर्मत मात्र हुने भएकाले वर्षाभरि समस्या हुने बताउनुभयो। यहाँ सामान्य पानी पर्दा पनि उकालोमा गाडी चिप्लिने र बाटोमा फस्ने समस्या छ।
दाउन्ने खण्डको १३ किलोमिटर सडक अस्तव्यस्त रहँदा यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। परियोजना कार्यालयका अनुसार दाउन्ने क्षेत्रमा धेरै कल्भर्ट बनाउनुपर्ने भएकाले कामले गति लिन सकेको छैन। यसपालिको वर्षा र चाडपर्वमा पनि दाउन्ने खण्डकै कारण यात्रा असहज हुने देखिएको छ।
अन्य खण्डको प्रगति
पूर्वी खण्डमा गैंडाकोटको जयश्री, चोरमाराको गिरुवारी खोला र अरुणखोलाको पुल निर्माण कार्य अझै बाँकी रहेको राकेश झाले जानकारी दिनुभयो। यस खण्डका अन्य पुलहरूको निर्माण कार्य भने सकिएको छ। त्यसैगरी, चोरमारा बजार, दुम्किवास बजार र दाउन्ने खण्डमा कालोपत्रे हुन बाँकी छ।
साउन ८ गते तेस्रो पटकको सम्झौता अवधि सकिँदै गर्दा बुटवल-नारायणगढ सडक विस्तारको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ।
